लौन कस्तो कलियुग लागेको- के के मात्र देख्न सुन्न परेको ! ससुरा-बुहारीको सम्बन्ध बाबुछोरीको जस्तो हुनुपर्ने। यहाँ ससुराले बुहारीलाई बलात्कार गरेको कुरा। अझ त्यो रातारात परिवर्तन भएर आफ्नै नाबालाक छोराले गरेको आरोप ! बयान फेरिएपछि प्रहरीले राति नै ती महिलाका १४ वर्षका छोरालाई अनुसन्धान गर्ने भन्दै नियन्त्रणमा लियो र ससुरालाई छाडिदियो।
तर, यो कुरा समाजलाई पचेन। दोषीलाई पक्रन अनुसन्धान नगरी चलखेल गरी निर्दोष नाबालकलाई फँसाउन खोजेको भन्दै वालिङमा रहेको वडा प्रहरी कार्यालय घेरियो। दिनभर नाराबाजी र धर्ना भयो। आन्दोलनकारीको तारो थिए वडा प्रहरी कार्यालयका प्रमुख हरिकृष्ण केसी। पैसाको चलखेल गरी नाबालक बच्चालाई नियन्त्रणमा लिएर ससुरालाई छाडेको आरोप थियो गाँउलेहरुको। बच्चालाई छोड, ससुरालाई पक्र- गाउँलेहरुको माग थियो। तर पीडित महिलाले दिएको बयान कै आधारमा छोरालाई पक्रेको भन्दै प्रहरी छोड्न तयार भएन। अनि आन्दोलनकारीले केही समय सिद्धार्थ हाइवेसमेत चक्काजाम गरे। आन्दोलनकारीले चौकी नै नियन्त्रणमा लिन खोजेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भयो।
केही महिला र प्रहरी घाइतेसमेत भए। घटनाले उग्र रुप लिन थालेपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक आभुषण तिमिल्सिना आए र नाबालकलाई गाउँलेको जिम्मा लगाउने र आरोपीलाई पक्रने सहमति भयो। भोलिपल्ट महिला अधिकारवादीहरुले बुहारीलाई सोधपूछ गर्दा म र छोराछोरी सुरक्षित हुने ग्यारेन्टी भए मात्र सब कुरा बताउँछु भनिछिन्। सुरक्षाको आश्वासन दिएपछि उनले प्रहरीकै अगाडि भनिछिन्- गर्भ ससुराकै हो। आफू र छोरा सुरक्षित हुने भएकाले छोरालाई आरोप लगाएको उनले बताइन्। छोरालाई त्यस्तो गम्भीर आरोप क्न लगाएको त भन्दा बुहारी बोल्नै सकिनछिन्। रोएर बसिछिन्। १४ वर्षका नाबालकले पनि कुटपिट गरेपछि डराएर आफूले हो भनेर बयान दिएको बताएछन्। यो विषयमा टेलिभिजनमा समेत कभरेज भयो। इमेज च्यानलको एउटा कार्यक्रममा यो घटनाको रिपोर्टिङ भएको छ। यो घटनामा को दोषी हो, पूर्ण छानबिन नभएसम्म यसै बताउन सकिने कुरा हैन।
तर घटनाक्रम सुन्दा निर्दोष लाग्ने नाबालकलाई समेत मिडियामा किन अनुहार चिनिने गरी अन्तर्वार्ता लिइएको हो, बुझ्नै गाह्रो छ। त्यतिमात्र नभई, मिडियामा उनी पढ्ने गरेको विद्यालय र कक्षासमेत खुल्ने समाचार आएका छन्। मिडियामा पत्रकारहरुसँग कुरागर्दै बुहारीले यसो भनेको कुरा पनि आएको छ–“मैले श्रीमानको माया कहिल्यै पाइनँ, उहाँले ४ लाख दिन्छु सम्वन्ध विच्छेद गरौँ भन्ने प्रस्ताव आएको थियो अब ४ लाख होइन ४ कौडी पनि पाउने भइनँ।” यसले दुई वर्षदेखि पति विदेश भएका गोदार दम्पतीको वैवाहिक सम्बन्ध पनि राम्रो नभएको संकेत दिएको छ। वयस्कहरुले गरेको गल्तीको दोष बिचरा नाबालकलाई दिइएको छ। कस्तो भयो होला बिचराको मनस्थिति !
पढ्नमा अत्यन्तै लगनशिल बालक केही दिनदेखि टोलाउने र रुने मात्र गरिरहेको विद्यालयका प्रिन्सिपललाई उद्धृत गर्दै समाचार आएका छन्। अहिले उनी असुरक्षित भएको भन्दै विद्यालयले नै संरक्षणमा लिएर गोप्य ठाउँमा लुकाएर राखेको रहेछ। अहिले प्रहरीले समेत यो घटनाको अनुसन्धानमा हात झिकेछ। प्रहरी निरीक्षक हरिकृष्ण केसीको भनाईका रुपमा यस्तो उद्धृत गरिएको छ- “फौजदारी अपराध अनुसुची १ अन्तर्गतका घटनामा प्रहरीले कारवाही गर्न मिल्छ। तर हाडनाता करणी जस्तो दुनियावादी अपराधमा छानबिन गर्न मिल्दैन।” यस्तो मुद्दा सीधै अदालतमा जान्छ रे। तर बाल न्याय नियमावली २०६३ मा भएको व्यवस्था विपरीत किन राति गएर प्रहरीले गिरफ्तार गर्यो, त्यसको जवाफ चाहिँ छैन। के प्रहरीलाई पनि कानुन राम्रोसँग थाहा नभएको हो ?
अब प्रहरीले नै यो विषयमा छानबिन गर्न नमिल्ने भएपछि घटनाको सत्यतथ्य कसरी बाहिर आउला त ? अब त ससुरा पनि फरार छन् रे। खासमा दोषी को होला त ? अनि बिचरा बालक कहिलेसम्म त्यसरी असुरक्षित भएर बस्नु पर्ने होला त ? उसको भविष्यबारे सोच्ने चाहिँ को होला त ? घटनाको एक महिना बितिसक्दा पनि यी प्रश्न अनुत्तरित नै छन् source Morang Online



No comments:
Post a Comment